
वासिङटन : अमेरिकामा हालै सम्पन्न निर्वाचन जो बाइडेनले जित्दा विश्व समुदायले उनलाई बधाइ दियो ।
यतिसम्म कि, कतिपय विपन्न देशका जनताले समेत बाइडेन र कमला ह्यारिसको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनीहरुलाई बधाइ र शुभकामना दिए । तर केही शक्तिशाली देशका प्रमुख र नेताले भने बाइडेनको जितप्रति कुनै पनि प्रतिक्रिया दिएका छैनन् । आइतबारसम्म पनि उनीहरु लगभग मौन छन् ।
मेक्सिकन राष्ट्रपति एन्द्रेस म्यानुएल लोपेज ओब्रादोरले त सबै कानुनी चुनौती समाधान नभइन्जेल आफू बाइडेनलाई बधाइ नदिने बताए । लोपेज ओब्रादोरले प्रेस सम्मेलनको क्रममा भने, ‘चुनावसँग सम्बन्धित सबै कानुनी मुद्दा समाधान नभइन्जेल हामी रोकिन्छौँ, हामी लापरवाही गर्दैनौँ ।’
मेक्सिकन राष्ट्रपतिले भने डोनल्ड ट्रम्प र जो बाइडेन दुबै नेतासँग आफ्नो देशको उत्तिकै राम्रो सम्बन्ध भएको प्रतिक्रिया दिए । यस्तै ट्रम्पसँग सुमधुर सम्बन्ध राख्ने प्रतिष्ठित नेताहरु बाइडेनको जितमा मौन देखिएका छन् ।
ब्रालिजका राष्ट्रपति जइर बोल्सोनारो र साउदी अरेबियाका राजकुमार मोहमद बिन सलमानले बाइडेनको जितमा कुनै प्रतिक्रिया दिएका छैनन् । यसवाहेक अर्का दुई विश्व शक्ति मानिएका चीन र रुसका राष्ट्रपति सी जिनपिङ र भ्लादिमिर पुटिनले समेत बाइडेनलाई बधाइ दिएनन् ।
चुनावी प्रतिस्पर्धाको बीचमा बोल्सोनारो र बाइडेनबीच त तिक्तता नै रहेको बताइन्छ । बाइडेनले ट्रम्पसँगको पहिलो बहसको क्रममा अमेजोन जंगल रक्षाका लागि ब्राजिललाई दबाब दिनुपर्ने बताएका थिए । तर बोल्सोनारोले लगत्तै उक्त भनाइको खण्डन गर्दै बाइडेनको भनाइलाई ‘विनाशकारी’को संज्ञा दिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्ते लगायत नेताहरुले भने बाइडेन निर्वाचित भएलगत्तै बधाइ दिएका थिए ।
source: annapurnapost