कोरोनाभाइरसको सङ्क्रमण देखिएयता अवरूद्ध चीनतर्फको एउटा प्रमुख भन्सार नाका सञ्चालनमा ल्याउन स्थानीय स्तरमा सहमति भएसँगै सावधानी अपनाएर मालवाहक कन्टेनरहरू नेपाल भित्रन थालेको अधिकारीहरूले जनाएका छन्।
सरकारले झण्डै डेढ महिना अघि नै चीनतर्फका दुवै नाका सञ्चालनमा ल्याउने निर्णय गरेपनि हालका लागि तातोपानी नाकामात्रै खुलेको छ।
मानिसहरूले पनि आवतजावतमा प्रयोग गर्दै आएका केरूङ नाका भने गएको माघको मध्यदेखि नै बन्द रहेको छ।
त्यसलाई पनि सञ्चालनमा ल्याउन सरकारी स्तरमा छलफल भइरहेको अधिकारीहरूले जनाएका छन्।
स्वास्थ्य जाँच र सुरक्षाका मापदण्ड
कोरोनाभाइरसले चीनका कैयौं शहरलाई अस्तव्यस्त बनाएपछि मध्य माघदेखि नै रसुवागढी र तातोपानी नाका बन्द रहँदै आएका थिए।
चैत ११ गते नेपाल सरकारले स्वास्थ्य र कृषि सम्बन्धी सुरक्षाका मापदण्ड पालना गरेर दुवै नाकाहरू सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।
त्यसयता रसुवागढी नाका खुल्न बाँकी नै रहेपनि तातोपानीबाट चैतको अन्तिम सातादेखि केही स्वास्थ्य र खाद्य सामग्री भित्रिएका थिए।
तर लगत्तै स्थानीय समुदायले पर्याप्त सावधानी नअपनाइएको भन्दै नाका सञ्चालनमा अवरोध पुर्याएपछि नेपाल र चीन कन्टेनरहरूलाई सीमा वारपार गराउँदा विशेष सुरक्षा उपाय अवलम्बन गर्न सहमत भएका छन्।
- कोरोनाभाइरसको त्रासका माझ, के नेपाल-चीन नाका सञ्चालनमा आउलान्
- चीनमा कोरोनाभाइरस फैलिँदा नेपालमा सुनदेखि लसुनसम्म महँगो
त्यस अन्तर्गत चालक र सामान लोड गर्ने मजदुरको नियमित स्वास्थ्य जाँच गर्ने र उनीहरूलाई क्वारन्टीनमा राख्ने जस्ता सावधानी अपनाउन थालिएको छ।
तातोपानी भन्सार कार्यालयका प्रमुख लालबाहदुर खत्री भन्छन्, “चालक र श्रमिकहरू जो दिनभर काम गर्न सीमा पार गरेर जान्छन् उनीहरू नेपालमा फर्केर अलग्गै बस्ने व्यवस्था गरेका छौँ। चालक र श्रमिकको एउटै समूहलाई निरन्तर काममा खटाउने र उनीहरू आराम गर्न वा घर बस्न चाहे १४ दिन क्वारन्टीनमा बस्ने व्यवस्था मिलाएका छौँ। दैनिक १० वटा कन्टेनरलाई मात्रै भित्र्याउने भनिएको छ।”

उनले मेसिन प्रयोग गरी सामानहरू कन्टेनरमा राख्ने व्यवस्था भए दैनिक २० वटा सम्म मालवाहक कन्टेनर उक्त नाकाबाट नेपाल प्रवेश गर्न सक्ने बताए।
तातोपानी नाकाबाट प्रवेश गर्नुअघि चीनको लिपिङ क्षेत्रमा सङ्क्रमण नाश गर्ने वस्तु छर्केर कन्टेनरलाई आधा घण्टा राखिने र नेपाल प्रवेश गरिसकेपछि पनि निसङ्क्रमण गर्ने वस्तु छर्केर १२ घण्टा राखिने अधिकारीहरूले जनाएका छन्।
तातोपानी भन्सार कार्यलयका प्रमुख खत्रीले शुक्रवारमात्रै चीनतर्फबाट कृषिमा प्रयोग हुने हाते ट्र्याक्टर र धानका बिउ नेपाल भित्रिएको जानकारी दिए।
सरकारले चीनमा खरिद गरेका कोरोनाभाइरसको उपचारसँग जोडिएका स्वास्थ्य सामग्रीका केही परीमाण स्थलमार्गबाट समेत ल्याउन लागिएको बताएको छ।
त्यो डेढ साता भित्र तातोपानीसम्म आइपुग्ने खरिदको जिम्मेवारी पाएको नेपाली सेनाका प्रवक्ताले बीबीसीलाई बताएका थिए।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

केरूङ नाकाबारे अन्योल
सन् २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका गएको जेठमा मात्रै सञ्चालनमा आएको हो।

यो बीचको अवधिमा रसुवा जिल्लामा पर्ने केरूङ नेपाल-चीन अन्तर्राष्ट्रिय व्यापार नाकाको रूपमा विकास भएको छ।
तर कोरोनाभाइरसको सङ्कटसँगै बन्द रहेको रसुवागढी नाकाको पुन: सञ्चालनबारे अझै अन्योल कायम देखिन्छ।
रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार नेपाल सरकारले पत्र लेखेर नै उक्त नाकालाई सञ्चालनमा ल्याउन चिनियाँ पक्षलाई आग्रह गरेको छ।
तर अन्तर्राष्ट्रिय सीमा नाका भएको र त्यो खुल्दा त्यहाँबाट मानिसको पनि आवतजावत हुने भएकाले मालसामान ढुवानीमा मात्रै प्रयोग हुने तातोपानी नाका सञ्चालनमा चीन बढी इच्छुक भएको नेपाली पक्षको बुझाइ छ।
यो वर्षको चैत मसान्तसम्म तातोपानी नाकाबाट १ अर्ब ८ करोड रुपियाँ राजश्व सङ्कलन भएको बताइन्छ।
सुवागढी नाकाबाट भने अघिल्लो वर्ष साढे १० अर्ब रूपियाँ भन्दा बढी राजश्व सङ्कलन भएको थियो।
source: bbcnepali